काठमाडौँ – परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली (नेपाल ई–प्रमाणीकरण प्रणाली) सुरु गरेको छ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।
परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र, आधारभूत कागजात तथा अन्य आवश्यक कागजातहरूको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने गरी उक्त प्रणाली विकास गरेको जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
यसले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनुका साथै सेवाग्राहीको समय तथा लागतसमेत बचत हुने अपेक्षा गरिएको छ।
Tags:
राष्ट्रिय समाचार