काठमाडौँ – प्रतिनिधिसभाको बैठक फेरि पाँच दिन स्थगित भएको छ।
१६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिनको १ बजे बस्ने गरी स्थगित गरेका हुन्। यसअघि असार ३१ गते प्रतिनिधिसभाको बैठक बसेको थियो।
देशमा धार्मिक हिंसा भड्किएर अवस्था नाजुक बनिरहेका बेला जनताको आवाज मुखरित हुने थलो संसदलाई सत्ता पक्षको स्वार्थमा सल्लाहविनै फेरि पाँच दिन स्थगित गरिएको विपक्षी दलहरुले गुनासो गरेका छन्। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले संसद बैठक पाँच दिन स्थगित गर्ने विषयमा सभामुखले आफूहरुसँग कुनै छलफल नै नगरेको बताइन्।
देश सञ्चारसँग उनले भनिन्, ‘पाँच दिन संसद स्थगित गर्ने विषयमा हामीसँग सल्लाह भएको छैन। विपक्षीका आवाज बन्द गर्न यस्तो गरिएको हो कि?’

एमाले प्रमुख सचेतक ऐन महरले पनि सदनलाई फेरि केही दिन रोक्ने विषयमा कुराकानी नभएको जनाए। महरले भने, ‘जनताका आवाजका रुपमा आउने विपक्षको भनाइ रोक्ने यस्तो गरिएको हो। भोलि (शुक्रबार) नभए सोमबार त बैठक राख्न सकिन्थ्यो। सल्लाह विनै पाँच दिन धकेलियो।’
देश समस्या परेका बेला संसद स्थगित गर्ने कार्यले लोकतन्त्र कमजोर हुने महरको जिकिर छ। ‘सबैभन्दा बढी संसद खुल्नुपर्ने बेला सरकारलाई सहयोग हुने गरी बैठक रोकियो। यसले लोकतन्त्रलाई कमजोर पार्छ, उनले भने।
संसद सचिवालय स्रोतले भने विजनेश नभएका कारण संसद बैठक धेरै दिनका लागि स्थगित गर्नुपरेको हो। एक अधिकारीले भने, ‘विजनेश छैन। सरकारले केही विधेयक हिजो दर्ता गर्ने निर्णय गरेर ल्याएको छ। ती सदनमा पेश गर्न कम्तिमा पाँच दिन कुर्नुपर्ने नियमावलीको व्यवस्था छ। त्यही भएर पनि सदन रोकिएको हो।’